२५६० औं बुद्धजयन्तीको विविध कार्यक्रम सम्पन्न

२५६०औं बुद्धजयन्तीको अवसरमा यसपटक नेपालमा पहिलोपटक विश्व बौद्ध सम्मेलन आयोजना भएको छ । यसको लागि विश्वका विभिन्न ४० देशका सरकारी प्रतिनिधिमण्डलका अतिरिक्त विभिन्न बौद्ध धर्मगुरुहरु समेतको आगमन भएको छ । गत जेष्ठ ८ मा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको समुपस्थितिमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले विश्व शान्तिका लागि घोषणापत्र सार्वजनिक गरेका थिए ।

‘ग्लोबल बुद्धिस्ट फोरम’ गठन गर्ने, लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट विश्वविद्यालयका रुपमा विकसित गर्ने, लुम्बिनी र बुद्ध सर्किट क्षेत्रमा रहेका पुरातात्विक क्षेत्रको उत्खनन, विश्वशान्तिको सहरको योजना कार्यान्वयन, लुम्बिनीलाई धार्मिक सहिष्णुता र द्वन्द्व व्यवस्थापनका लागि केन्द्रका रुपमा विकसित गर्ने उक्त घोषणा पत्रमा उल्लेख छ । बुद्धको सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्ने, लुम्बिनी विकासको गुरु योजना बनाउने र लुम्बिनी, तिलौराकोट, देवदह तथा रामग्रामलाई बराबरी विकास गरिने घोषणा पत्रमा उल्लेख छ । बुद्धले बुद्धत्व प्राप्त गरेको भारतको बोधगया, ज्ञान बाँडेको भारतकै सारनाथ र महापरिनिर्वाण भएको भारतकै कुशीनगरको पनि बराबरी विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।

यसैबीच, काठमाडौंको बौद्धमा श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय संघसंस्थाहरु तथा  समाजसेवी तथा बुद्धिजिवीहरुको समेत व्यापक सहभागितासहितको २५६०औं बुद्धजयन्ती मूल आयोजक समारोह समितिद्वारा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

गत जेठ ४ गते बौद्धस्तुपदेखि हेटौडा– चिसापानीस्थित चेपाङ प्रा.वि.सम्मको शान्ति दौड यात्रा राष्ट्रिय धावक रत्न तुलाधारको नेतृत्वमा राष्ट्रिय धावक सुश्री हुमी बुढामगर, अर्का धावक जयराम लामा, दामोदर बूढामगर,  दिनेश महर्जन, शेरबहादुर थारु, मनिष जोशी लगायतका धावकहरु सहभागी भएका थिए । जेठ ४ गते विहान स्थानीय समाजसेवी जयमंगल लामाले खेलाडीहरुलाई राष्ट्रिय झण्डा र बौद्ध झण्डा एकैसाथ खेलाडीहरुलाई हस्तान्तरण गरेपछि शान्ति दौडको शुुभारम्भ भएको थियो । उक्त अवसरमा श्रीबौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाले खेलाडीहरुलाई खादा अर्पण गर्दै हौसला प्रदान गरी शान्ति दौडको पूर्ण सफलताका कामना दिँदै शुभकामना दिनुभएको थियो ।

उक्त समूहले चेपाङ प्रा.वि.मा पुगी उक्त विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुलाई स्टेशनरी सामग्रीको अतिरिक्त आर्थिक सहयोग प्रदान गरेको थियो । उक्त दौडमार्फत् एकातर्फ बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने शान्तिको सन्देश फैलाउने रहेको छ भने अर्कोतर्फ चेपाङ प्रा.वि.मा अध्ययनरत विद्यार्थीहरुको शिक्षाको लागि आर्थिक सहयोग जुटाई उक्त कार्यक्रममै रकम समेत हस्तान्तरण गरिएको खास्ती नेवा पुचःका अध्यक्ष दुर्गामान शाक्यले बताए । सोही विद्यालयको लागि बौद्धका स्थानीय समाजसेवी श्री सूर्यबज्र लमाज्यूबाट रु. ५१,०००÷– नगद, पोष्ट टेन्ट ५ थान र समाजसेवी टासी कुमार लामाज्यूबाट रु. ५,०००÷– प्रदान गर्नु भएको थियो ।

त्यस्तै, जेठ ५ गते बुद्ध र समसामयिक विषयमा आधारित प्रश्नहरु समावेश गरी अन्तरविद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो । बौद्धस्थित श्री महेन्द्रबौद्ध उच्च मा.वि.को प्राङ्गणमा आयोजना गरिएको उक्त हाजिरी जवाफ प्रतियोगितामा स्थानीय १० वटा विद्यालयले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितमा बौद्ध सेकेन्डरी बोर्डिङ स्कुल, रामहिटीका सर्वज्ञमान मोक्तान, पुनम तामाङ र प्रमिला अधिकारीले प्रथम स्थान हासिल गरे भने अरुणिमा उच्च मावि.का विद्यार्थी राजेश्वरी मल्ल, सौरव फुँयाल र शिरिष आचार्यले दोस्रो स्थान हासिल गरे । त्यस्तै, श्री महेन्द्र उच्च मा.वि.का विद्यार्थी प्रज्ज्वल तामाङ, दोर्जे भ्लोन, निशा चौलागाईंले तेस्रो स्थान हासिल गर्न सफल भए भने सान्त्वना पुस्कार बुद्धपशुपति एकेडेमीका विद्यार्थी अजय तामाङ, रविना भट्ट र विभा ठाकुरले प्राप्त गरे । उक्त प्रतियोगिताको निर्णायक मण्डलमा देवी घिमिरे, वीरबहादुर वाइवा, खड्गजीत लामा, हरि कार्की, मदनकृष्ण सिलवाल र शिशिर लामा सहभागी थिए ।

उक्त प्रतियोगितामा विद्यार्थी भाइबहिनीहरुको उत्साहजनक रुपमा सहभागिता रहेको थियो । कार्यक्रममा ८० प्रतिशत प्रश्नहरु बुद्धसँग सम्बन्धित थिए भने २० प्रतिशत प्रश्नहरु समसामयिक रुपमा समावेश गरिएका थिए ।

त्यसैगरी यस वर्ष बौद्धमा पहिलोपटक कवि गोष्ठी सम्पन्न भएको छ । विगत वर्षमा नै आयोजना गर्ने तय गरिएको यो कवि गोष्ठी २०७२ साल बैशाख १२,१३ र २९ गतेको विनासकारी महाभूकम्पका कारण स्थगित भएको थियो । ‘बुद्ध, शान्ति र राष्ट्रियतामा’ आधारित सो कवि गोष्ठीमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक श्री फुबुयाङजी लामाज्यूबाट शुभकामना मन्तव्य दिनु भएको थियो । कवि गोष्ठिमा छन्द कवि डा. देवी नेपालदेखि युवा कवि सुरेश सत्यालको बेजोड प्रस्तुतीले सबैलाई मन्त्रमुग्घ तुल्याएको थियो । कवि गोष्ठीका प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी हुनुहुन्थ्यो भने श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कवि गोष्ठीमा डा. देवी नेपाल, प्राज्ञ गायत्री विष्ट, प्राज्ञ शशी लुमुम्बु, फूलमान वल, विजय चालिसे, प्रभा भट्टराई, यशोदा अधिकारी, प्रल्हाद पोखरेल, गोविन्दप्रसाद घिमिरे वेदमणि, बाजुराम पौडेल, वीरबहादुर वाइवा, अनिता लामा, सुरेश सत्याल, लक्ष्मी रुम्बा, सीता भट्टराई, भगतदास श्रेष्ठलगायत कवि कवियित्रीहरुले कविता बाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन देवी घिमिरेले गर्नुभएको थियो ।

प्रमुख अतिथि संस्कृतविद् सत्यमोहन जोशीले यस गोष्ठीमा वाचित छन्द कविताप्रति प्रभावित हुँदै यी कविताहरुलाई अंग्रेजी भाषामा उल्था गरी प्रकाशन गर्न सकेमा विश्व बजारमा समेत नेपाली साहित्यले चर्चा पाउने कुरालाई औंल्याउँदै बंगाली साहित्यकार रवीन्द्रनाथ टैगोरले छन्दमै ‘गीताञ्जली’ लेखेर नोबेल पुरस्कार पाएको चर्चा गर्नुभयो ।

गत जेठ ८ गते विहान ९ः०० बजे बुद्धजयन्तीको अवसरमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाको सभापतित्व तथा श्रद्धेय साङ्तेन रिन्पोर्छेको प्रमुख आतिथ्यमा एक कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा समितिका कार्यकारी निर्देशक श्री फुबुयाङजी लामाबाट शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा बुद्ध वचनमा आधारित ४ सम्प्रदायका गेसे, तथा खेन्पो गुरुहरु श्रद्धेय खेन्पो ज्योर्त्ेन, लोपोन वाङ्छु तेन्जीन लामा, खेन्पो साङ्गे फुन्छुक लामा, लोपोन दावा साम्ज्योर, दोर्जे लोपोन केल्साङ छिरिङ, श्रद्धेय साङ्तेन रिन्पोछेद्वारा बुद्ध भगवान्को ८४ हजार धर्म स्कन्ध मध्ये चार आर्यसत्य, प्रतीत्य समुद्पाद, आर्य अष्टाङ्गिक मार्ग, बोधिचित्तको प्रभावको ब्याख्या (मानव जीवनमा बुद्ध वचन) बारे प्रवचन दिइएको थियो । उक्त अवसरमा लेखकद्वय विनोद कार्की र सचिन योगल श्रेष्ठबाट संकलित बौद्धमहास्तूप तथा विभिन्न गुम्बा, मन्दिर, भाषा, संस्कृति, संस्कार, रीतिरिवाज, चाडपर्व र विभिन्न देवीदेवताका परिचय सहितको “द ग्रेट बौद्ध स्तुपा” नामक पुस्तक श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा प्रकाशित पुस्तकको प्रमुख अतिथि श्रद्धेय साङ्तेन रिन्पोछेको बाहुलीबाट लोकार्पण गरिएको थियो । सोही अवसरमा अन्तर माध्यमिक विद्यालयमा पुरस्कृत विद्यार्थी भाइबहिनीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको थियो ।

२५६० औं बौद्ध जयन्तीको अवसरमा बौद्धस्तुप परिसरमा आयोजित रक्तदान कार्यक्रममा १३० जनाले रक्तदान गरेका थिए । खास्ती नेवा पुचको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै, उक्त दिन दिउँसो ३ बजे बुद्धको मूर्तिसहितको शोभा यात्राको तयारी भइरहेको बखत एक्कासी मुसलधारे वर्षा हुन पुग्यो । वर्षाका कारण उक्त शोभा यात्रामा सहभागी हुन आएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा विद्यालयका विद्यार्थीहरु तितरवितर भएका थिए । केही घण्टा पछि वर्षा रोकिएपछि शोभा यात्राको शुभारम्भ गरिएको थियो । शोभायात्रा (शान्ति ¥याली) मा महामानव भगवान् गौतम बुद्धको मूर्ति सहित राष्ट्रिय झण्डा र बौद्ध झण्डा सहित श्री बौद्धनाथ क्षेत्र विकास समितिका परिवार, बौद्ध लामा परम्परागत बाजागाजा, नेपाल प्रहरीको ब्याण्डबाजा, परम्परागत नेवारी धिमेबाजा, स्थानीय विभिन्न संघसंस्था, क्लब, गुठी, विद्यालय तथा स्थानीय समाजसेवी एवम् बुद्धिजीवीहरु, धर्मावलम्बीहरु, भक्तजनहरु शान्तिका कामना गर्ने सर्वसाधारण सबै नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । बौद्ध परिसरबाट बौद्ध पीपलबोट– चावहिल, चुच्चेपाटी हुँदै पुनः बौद्धस्तुपको प्राङ्गणमा आई शोभा यात्रा (शान्ति यात्रा) विर्सजन भएको थियो ।