त्यो बौद्ध, यो बौद्ध

आश्विन ७, २०७२- वैशाख १२ को प्रलयकारी भूकम्प आउँदा सम्पूर्णकुमार लामा बुद्धजयन्तीको तयारीमा व्यस्त थिए। बौद्धका यी ५२ वर्षीय पाँचौं शताब्दीमा बनेको बौद्धनाथ स्तुपाको पछिल्लो दुइटा समयको साक्षी हुन्। काठमाडौंमा कंक्रिट संचरना भित्रिनुअघि र पछिको समय। तीन दशकअघि मात्रै यो स्तुपा खेतैखेतैको बीच उभिएको थियो। स्वर्गमा फूल चोरेबापत सजाय भोग्न धर्तीमा जन्मेकी एक अप्सराको मिथसँग जोडिएको यो सम्पदा त्यसयता विस्तारै कंक्रिटको जंगलमा पुरिँदै गयो। हालैको भूकम्पले चाहिँ क्षतिग्रस्त। भूकम्पअघि र पछिको स्तुपाबारे तस्बिर प्रदर्शनीको उद्घाटन गरिरहँदा लामाले पुराना दिन सम्झे।
‘हामी यहीँका खेतबारीमा खेलेरे हुर्क्यौं,’ उनी भन्दै थिए, ‘अब खेतबारी हेर्न गाउँ पस्नुपर्छ।’ सहरी विकासले ल्याएको पुरानोपनको विनाशप्रति भन्दा लिच्छवीकालीन सम्पदाको रूपमा रहेको स्तुपाको संरक्षणप्रति उनको खास चासो थियो। यही भएर उनकै पहलमा बुधबारदेखि बौद्धनाथ परिसरमा भूकम्पअघि र पछिको तस्बिरहरू प्रदर्शनी सुरु भएको छ। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेका लामाले युनेस्को विश्व सम्पदा सूचीमा रहेको बौद्धको ‘हाल खबर’ प्रस्ट्याउन पनि प्रदर्शनी गरिएको जनाए।

विनोद कार्की र सचिन योगल श्रेष्ठले खिचेका ७० तस्बिरहरू प्रदर्शनीमा छन्। भूकम्पबाट माथिल्लो भागको १३ स्टेप पूरै क्षतिग्रस्त बनेको स्तुपा अहिले जीर्णोद्धार क्रममा छ।

पर्यटकदेखि स्वदेशी दर्शनार्थीहरू स्तुपाको झल्को मेटाउनकै लागि पनि प्रदर्शनीमा पसेर पुरानो तस्बिर हेरिरहेका भेटिन्छन्। भूकम्पअघिका तस्बिरहरू तुलनात्मक रूपमा कलात्मक छन्। फोटोग्राफरहरूले दिउँसो, बिहान र साँझको गरी विभिन्न प्रकाश मुडलाई फ्रेममा कैद गरेका छन्। विशेष गरी साँझका तस्बिरहरू बढी कलात्मक छन्। भूकम्पपछि खिचिएका तस्बिरहरूमा भने कलात्मकताभन्दा सूचनामूलक तत्त्व बढी पाइन्छ।

‘यो खण्डमा हामीले भग्नावशेष उठाउने प्रक्रिया र त्यस क्रममा भेटिएका दुर्लभ ऐतिहासिक वस्तुहरूलाई बढी समेटेका छौं,’ लामाले भने, ‘एउटा ऐतिहासिक क्षणको साक्षी बनेका छन् यी तस्बिरहरू।’ स्तुपाको गजुरभित्र भेटिएका १९ वटा तामाका बाकसहरू, वरिपरि मोरिएका कलात्मक पाता, निर्माण संरचनालाई बलियो बनाउन प्रयोग हुने पुरानो नेपाली काष्ठकलासम्म तस्बिरहरू रोचक लाग्छन्। ‘गजुरभित्र भेटिएका तामाका बाकसभित्र के छन्, कसले राखेका हुन्, अहिलेसम्म कसैलाई थाहा छैन, खोलेर हेर्ने कुरा पनि आएन,’ लामाले भने, ‘पुरातत्त्व विभागको रोहबरमा लाहछाप लाएर ती सामग्रीहरू अहिले प्रहरी सुरक्षाभित्र राखेका छौं।’
प्रदर्शनी हेर्न आउनेहरू तामाको बाकसको तस्बिर छेउ पुगेपछि जिज्ञासु हुन्छन्। ‘यी बाकस भेटिएपछि हामी आफैं पनि छक्क परेका थियौं,’ समितिकै सदस्य वसन्तराज लामाले भने, ‘झ्याजिमाकै पालादेखिको हो कि?’ कथा अनुसार झ्याजिमा कुनै समय स्वर्गकी अप्सरा थिइन्। फूल चोरेबापत धर्तीमा जन्मेकी उनको घोडा व्यापारी, सुंगुर व्यापारी, कुकुर व्यापारी र कुखुरा व्यापारी गरी चारजना पुरुषसँग बिहे भयो। उनीहरूबाट क्रमश: ताजेबु फजेबु, खिजेबु र ज्याजेबु नामक छोराहरू भए। एक दिन पूर्वजन्मको घटनाबारे पत्तो पाएपछि झ्याजिमाले धर्मकर्म गर्ने निधो गरिन् र राजासँग जग्गा मागेर स्तुपा बनाउन थालिन्। दुई वर्षमै झ्याजिमाको निधन भएपछि चारजना छोराले सात वर्ष लाएर स्तुपा बनाएको मिथ प्रचलित छ। इतिहासकारहरूमध्ये कसैले यो निर्माणको समय लिच्छवी राजा शिवदेव त कसैले मानदेवको समयलाई मानेका छन्।

‘यस हिसाबले पनि स्तुपाको भग्नावशेषभित्र भेटिएका सामग्रीहरू धेरै पुराना हुन सक्छन्,’ लामाले भने, ‘कसैले प्रत्यक्ष अवलोकन गर्न नपाएका यी सामग्रीबारे तस्बिरमार्फत भए पनि सर्वसाधारणले सूचना पाओस् भनेर प्रदर्शनी गरेका हौं।’ नि:शुल्क हेर्न पाउने प्रदर्शनीका तस्बिरहरू बिक्रीका लागि भने हैनन्। प्रदर्शनी २५ दिनसम्म जारी रहनेछ।

प्रकाशित: आश्विन ७, २०७२, Kantipur daily