तेमालजात्रा (बाैद्धको जात्रा) र ङोवा-मोनलमको महत्व

तेमालजात्रा तामाङ समुदायको विभिन्न चाडपर्व, उत्सव वा पूजामध्ये प्राचीन समयदेखि मनाउँदै आइरहेको एउटा प्रमुख पर्व हो । यो तामाङ संस्कृतिको अभिन्न अंगको रुपमा रहेको छ । तेमालजात्रामा काभ्रे जिल्लास्थित तेमाल क्षेत्रका तामाङहरु आफ्ना दिवंगत्हरुको आत्माको चिर शान्तिका निम्ति बौद्ध महाचैत्यमा आई विशेष पूजाआजा गर्ने, दीप प्रज्वलन गर्ने भएकोले यस जात्राको नाम तेमालजात्रा रहन गएको हो । तेमालमा बसोवास गर्ने तामाङहरु यसलाई बौद्धको जात्रा पनि भन्ने गर्दछन् । हाल यस जात्रामा तेमालका तामाङहरु लगायत मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट तामाङहरुको व्यापक सहभागिता रहने गर्दछ । प्रत्येक वर्ष चैत पूर्णिमाको एकदिन अगाडि बौद्ध महाचैत्यमा पितृ मोक्षका निम्ति बत्ती बाल्दै चैत पूर्णिमाका दिन बालाजु बाइसधारामा स्नान गर्दै स्वयम्भू महाचैत्यमा पुगेर पूजाआजा सकिन तेमालजात्राको विसर्जन हुने गर्दछ ।

एक बौद्ध किंवदन्ती अनुसार सत्य युगमा काठमाडौं उपत्यका दहको रुपमा रहेको समयमा बन्धुमती नगरबाट विपश्वी बुद्ध काठमाडौं उपत्यकामा पाल्नु भई नागार्जुन डाँडामा बसेर साधना गर्नुभयो । उनले आफ्नो ऋद्धि शक्तिले चैत्र पूर्णिमाको दिनमा दहमा एक कमलको बीज रोप्नुभयो र सोही बीजबाट कमलको फूल उत्पत्ति भयो । आश्विन शुक्ल पूर्णिमाका दिन सो कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भयो । त्यो अलौकिक ज्योति दर्शन गर्न विभिन्न कालमा शिखी बुद्ध, विश्वभू बुद्ध, क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र काश्यप बुद्ध स्वयम्भूमा आउनु भएको थियो । विश्वभू बुद्धको समयमा महाचीनबाट बोधिसत्व मञ्जुश्री आफ्ना शिष्यहरुसहित स्वयम्भूको अलौकिक ज्योतिको दर्शन गर्न आउनुभयो । उहाँले आफ्नो धारिलो खड्गले चोभारको डाँडा काटी नागदहको पानी बाहिर पठाउनुभयो । पानी बाहिर गएपछि त्यहाँ अलौकिक स्वयम्भू चैत्य देखियो । बौद्ध क्रियाकलाप विस्तारको क्रममा काश्यप बुद्धले स्वयम्भूको दर्शन गरी फर्केपछि तत्कालीन गौडका राजा प्रचण्डदेवलाई स्वयम्भूको महिमा बारे बताए पछि उनी अत्यन्त प्रभावित भई स्वयम्भूको दर्शन गर्न आए । त्यसपछि उनी आचार्य गुणाकरका शिष्य भए । उनैले आचार्य गुणाकरको अनुमति लिएर स्फटिक स्वरुप अलौकिक स्वयम्भू चैत्यको संरक्षार्थ यसलाई गर्भभित्र राखे । यसरी विपश्वी बुद्धले कमलका बीज रोपेको स्मरण गर्दै हरेक वर्ष चैत्र पूर्णिमाका दिन स्वयम्भू चैत्यमा ठूलो जात्रा लाग्न थाल्यो र यसलाई तेमालजात्रा भनियो । यसप्रकार काठमाडौं दहकै रुपमा रहेको समयबाट तेमालजात्राको प्रारम्भ भएको भए तापनि यसको व्यापकता भने स्वयम्भू र बौद्ध स्तूपको निर्माणपछि बढ्न थालेको प्रतीत हुन्छ । अर्कोतर्फ ‘तेमाल’ तामाङहरुको साँस्कृतिक, ऐतिहासिक एवं् उद्गम थलो भएकोले यस स्थलको नामबाटै ‘तेमालजात्रा’ नामकरण भएको अनुमान लगाउन सकिन्छ । वि.सं. १८१९ असोज २ सम्म तेमालका अन्तिम तामाङ राजा रिन्जिन दोर्जे बलले चैत्र पूर्णिमालाई राजकीय चाडको मान्यता दिएको र तेमालजात्रा सम्पन्न गर्न आफ्ना जनताहरु पठाउने गरेको जनश्रुति रहेको पाइन्छ । अर्को तर्फ बौद्ध स्तूपको जीर्णोद्धार कार्य सम्पन्न भएको खुसीयालीमा यस महास्तूपमा विशेष पूजाआजा सहित उत्सव मनाउन तेमालका राजा रिन्जिन दोर्जेले ‘तेमालजात्रा’ चलाएको भन्ने किंवदन्ती पनि पाइन्छ ।

तेमालजात्राको धार्मिक महत्व ठूलो छ । यस दिन आफ्ना पितृहरुको स्मरणमा दियो–बत्ती बाल्दै ङोवा–मोन्लम् गर्नाले आफ्ना दिवंगत् पितृहरु षड्गतिमा पर्दैनन् र अर्को जुनीमा सुखवती भुवनमा जन्मिन्छन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । साथै उक्त पुण्य दिनमा बौद्ध तथा स्वयम्भूमा बत्ती बाली पूजाआजा गर्नाले मृतकका आफन्तजनहरुको समेत मनोकांक्षा पूर्ण हुने र दिर्घायु प्राप्त हुने धार्मिक मान्यता रहँदै आएको पाइन्छ । यद्यपि दिवंगतहरुको नाममा मात्र ङोवा र मोन्लम् गरिनु अत्यन्त गलत प्रथा हो । बुद्धमार्गीहरुले सबै सत्व प्राणीहरुमा सुख–शान्ति छाओस् र मृत्यु पश्चात् सुखवती भुवनमा जन्म लिन पाओस् भनी ङोवा–मोन्लम् गर्नु नितान्त आवश्यक छ ।

IMAGE OF BOUDHA  TEMAL JATRA 4

प्रणिधान (मोन्लम्)

मोन्लम् भन्नाले कुनै पनि चिताएको कुरा पुगोस् भनी गर्ने प्रणिधानलाई भनिन्छ । मोन् र लम् दुई शब्द मिलेर बनेको यस शब्द मोन्ले प्रार्थना र लम्ले बाटो वा मोक्षपथ भन्ने जनाउँदछ । अर्थात् बितिसकेका व्यक्तिहरुले शीघ्र बुद्धत्व प्राप्त गरोस् भनी गरिने प्रार्थना वा प्रणिधान हो मोन्लम् । दिवंगत व्यक्तिको नाममा मात्र मोन्लम् गरिन्छ भन्नु गलत हो । मोन्लम् त जसलाई, जहाँ, जसरी, जहिले, जुनै कुरा प्राप्तिको लागि गरे पनि हुने कुशल विचार हो । विशेष गरी बुद्ध प्रतिमा र चैत्यहरुको सामु दुई हात जोडी प्रणिधान (मोन्लम्) गरिन्छ । मलाई राम्रो होेस्, मलाई मात्र फलिफाप होस्, मैले मात्र चिताएको पुगोस् भनी गरिने प्रार्थना तुच्छ र स्वार्थी पाराको हुने हुँदा सबै महायान बौद्ध महायान बौद्ध धर्मावलम्बीहरुले सकेसम्म सबै जीवधारी प्राणीहरुको सुख शान्ति र अन्तमा बुद्धत्व प्राप्त गरी यस संसारको जन्म, जरा, व्याधि र मृत्यु जस्ता दुःखबाट सदाको लागि छुट्कारा पाई अन्तमा सबै सत्व प्राणीहरुले सुखवती भुवन (देवाचेन्गी शिङखम्) मा जन्म लिन पाओस् भनी प्रणिधान गर्नु आवश्यक छ । जस्तो कर्म उस्तै फल भनेझैं राम्रो प्रणिधान (मोन्लम्) गरे फल पनि राम्रै मिल्ने सुनिश्चित छ । के हिमाल, के पहाड, के तराई हामी सबै बौद्ध धर्मावलम्वीहरुले के बुझ्नु पर्दछ भने आफ्नो जस्तोसुकै सुख पनि अरु प्राणीहरुको सहयोगबाट मात्र प्राप्त हुने कुराको हेक्का राख्दै प्रणिधान (मोन्लम्) गर्दा सबै परिवार, समाज, सम्प्रदाय, समग्र राष्ट्र अनि सबै लोकका प्राणीहरुले परम् सुख र मोक्ष प्राप्त गर्न सकुन् भनी मोन्लम् गरेमा मोन्लम्को सही अर्थ र उपयोग भएको ठहरिन्छ ।

तेमालजात्रामा पाल्नुभएका श्रद्धालु–भक्तजनहरुमा हार्दिक अनुरोध

बौद्ध महास्तूप क्षेत्र धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व र विशेषता बोकेको क्षेत्र हो । सन् १९७९ मा येनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेपछि यसको गरिमा अझ बढेको छ । बौद्धमार्गीहरु यस चैत्यलाई झ्यारुङ खश्योर छ्योर्तेन भन्दछन् । यो महास्तूप एउटा यस्तो मात्र स्तूप हो जसको गर्भमा भद्रकल्पको तेस्रो बुद्ध काश्यप बुद्धको अस्थिधातु राखिएको छ । यस महास्तूपलाई त्रिकाल बुद्ध (भूत, वर्तमान र भविष्यत् कालका बुद्ध)को चित्तको प्रतीक मानिन्छ । अष्टमण्डलाकारको यो महाचैत्य नेपाली वास्तुकलाको अनुपम उदाहरणको रुपमा रहेको छ । यस महास्तूपलाई चिन्तामणिको प्रतीक मानिन्छ जसको सामुमा शुद्ध चित्तले प्रार्थना गर्नाले मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहेको पाइन्छ । यस महास्तूपको दर्शन मात्र गर्ने प्राणीले दुर्गतिमा कदापि जन्म लिनुपर्ने छैन । जसले यस स्तूपको बारेमा सुन्छ, त्यही सुनेकै भरमा उसले आफ्नो चित्त सन्ततिमा बोधिचित्तको बीज उत्पन्न गरेको हुन्छ । आदर स्वरुप दुवै अञ्जुली बाँधेर नमस्कार गर्नेहरु सबै सद्मार्गमा लाग्नेछन् । ज–जसले यस महास्तूप समक्ष अध्येषणा गर्दछन्, उनीहरुका दुईवटा स्वार्थ प्रज्ञा र उपाय परिश्रम विना नै सिद्ध हुनेछन् । ज–जसले यस महास्तूपमा पुष्प चढाउँदछन्, उनीहरुले सद्धर्म अभ्यासका लागि उपयुक्त ऐश्वर्य र वैभवले परिपूर्ण दुर्लभ मनुष्य शरीर पाउने निश्चित छ । धूप चढाउने सबैले विशुद्ध शील प्राप्त गर्ने निश्चित छ । घ्यू–बत्ती (छ्योइमे) चढाउनेहरुको अज्ञानरुपी अन्धकार नाश भएर जानेछ । जल चढाउने सबैले सबै प्रकारका मानसिक अशान्ति र पीडाबाट छुट्कारा पाउनेछन् । मण्डल चढाउनेले पुण्य सम्भार र ज्ञान सम्भार गर्दै सांवृतिक र परमार्थ लक्ष्यहरु प्राप्त गर्नेछन् ।

यस महास्तूपको वरिपरि प्रदक्षिणा गर्ने सबैले उच्च गति सुगतिका सात गुणहरु प्राप्त गर्नेछन् । यस स्तूपको जीर्णोद्धार गर्नेहरुले आफूले चिताएको पूरा हुने मात्र नभई अनुत्तर बोधिलाभ गर्नेछन् । स्तूपमा रंग पोतेर जीर्णोद्धार गर्नेहरु चक्रवर्ती राजा भएर जन्मिनेछन् र त्यस रंगमा प्रयोग भएका चूनका कण बराबर अनेकौं लोकधातुमा राज गर्नेछन् । स्तूपको लागि काय, वाक र चित्तले कर्ममा लाग्ने सबैले बुद्धको काय, वाक, चित्त आफन्ै काय, वाक र चित्तमा विलीन भएको अनुभूति गर्नेछन् । स्तूपमा सु–प्रतिष्ठा, मन्त्र जप गर्ने व्यक्तिका लागि युद्ध, अनिकाल, महामारी सबै हटेर जानेछन् र शान्ति र खुसी फैलिने छन् । यस महास्तूपमा सानो–ठूलो जस्तोसुकै सिद्धि लाभ गराउने र जस्तोसुकै प्रार्थनाको पनि जवाफ दिने प्रबल शक्ति निहित रहेको छ । त्यस कारणले यस स्तूपलाई सबै प्रार्थना पूरा गरिदिने स्तूप भनेर पनि चिनिन्छ । तर यस महास्तूपलाई हानि नोक्सानी गर्ने व्यक्ति यस जुनीमा सबै खालका अकुशल कर्मको पात्र बन्नेछ भने भविष्यमा अर्को जुनीमा ऊ अविचि नरकमा पतन हुनेछ । अविचि नरकमा परेपछि त्यहाँबाट उम्कने कुनै संभावना हुँदैन र त्यहाँ पु¥याउने कर्मको पश्चात्ताप सम्म पनि गर्न सकिंदैन भनेर “पेमा कथाङ” नामक बौद्ध ग्रन्थमा उल्लेख भएको पाइन्छ ।

तसर्थ तेमालजात्रामा पाल्नुभएका श्रद्धालु–भक्तजनहरुमा हामी निम्न आग्रह गर्दछौं ।
१) बौद्ध महास्तूपको धार्मिक महत्वलाई बुझौं ।
२) बौद्ध महास्तूप वरिपरि फोहर नगरौं ।
३) महास्तूपलाई हानि–नोक्सानी पु¥याउने कुनै कार्य नगरौं ।
४) महास्तूप परिसरमा धूम्रपान नगरौं ।
५) महास्तूप परिसरमा ध्वनि प्रदूषण नबढाऔं ।
६) स्तूप परिसरमा मद्यपान नगरौं ।
७) आफ्नो सामानको सुरक्षा आफैं गरौं ।
८) सभ्य नागरिकको परिचय देऔं ।

तेमालजात्रामा व्यवस्थापन गरिएका सुविधाहरुः
१) बासको व्यवस्था
२) शौचालयको व्यवस्था
३) पार्किङ्गको व्यवस्था
४) स्वास्थ्य शिविरको व्यवस्था
५) निःशुल्क पिउने पानीको व्यवस्था
६) लामा गुरुहरुबाट ङोवा मोन्लम गराउने व्यवस्था
७) बौद्ध स्तूपमा बत्ती बाल्न र पूजा गर्न लाईनको व्यवस्था

थुजेछे ! फ्याफुल्ला !!

संयोजक
श्री बौद्धनाथ क्षेत्र विकास समिति
तथा
तेमालजात्रा व्यवस्थापन समिति, बौद्ध, काठमाडौं ।
२०७१

IMAGE OF BOUDHA  TEMAL JATRA 3

FacebookTwitterGoogle+Share