आफ्नै बुतामा बन्दै बौद्ध

महाभूकम्पले भत्किएका पुरातात्त्विक सम्पदा पुनर्निर्माणमा सरकारले विदेशी दाता गुहारिरहेको छ। विश्व सम्पदामा सूचीकृत बौद्ध महाचैत्य(स्तूप)ले भने नसरकारको मुख ताक्यो, न दाताको। जनस्तरको सक्रियतामा थालिएको यसको पुनर्निर्माण ९० प्रतिशत पूरा भइसकेको छ।

पाँचौं शताब्दीमा निर्माण भएको मानिने यो विश्व सम्पदा अबको दुई महिना भित्र साविककै स्थितिमा फर्किनेछ। बौद्धनाथ क्षेत्र विकास समितिले आउँदो कार्तिक भित्र सम्पूर्ण काम सकाउने र मंसिर पहिलो साता उद्घाटनै गर्ने गरी कार्य सूची बनाइसकेको छ। विनाशकारी भूकम्प पछि पुनर्निर्माण थालिएको उपत्यकाको यो नै पहिलो विश्वसम्पदा हो। पुनर्निर्माण सम्पन्न हुने पनि पहिलोनै बन्दैछ। ‘मंसिर पहिलो साता देवातरण दिवस(लभवधुइछेन) को साइत पारेर प्राणप्रतिष्ठा गर्दैछौं, ’समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाले भने, ‘चारैवटा बौद्ध परम्पराका धर्मगुरुको उपस्थितिमा राष्ट्रप्रमुखको बाहुलीबाट समुद्घाटन गर्ने योजना बनाउँदैछौं।’ भूकम्पले महाचैत्यको डोम देखि त्रयोदश भुवन(तेह्रवटा खुड्किला) सम्मका भागहरू,  मण्डला र छ्यार्तेनहरू भत्काएको थियो।

पुरातत्त्व विभागका प्राविधिकहरूको प्रत्यक्ष निगरानीमा २०७२ जेठ १० गते देखि यसको पुनर्निर्माण थालिएको थियो, जति बेला परकम्पहरू बाक्लै आइरहन्थे। पुनर्निर्माणको तत्कालीन प्राविधिक लागत १८ करोड ४५ लाख रुपैयाँ निस्केको थियो। तैपनि आफूसँग उपलब्ध ३ करोड रुपैयाँ बाट समितिले पुनर्निर्माण थालेको थियो। त्यो रकम स्तूप प्रवेश गर्ने पर्यटकबाट लिइने आर्थिक वर्ष २०७१/७२ मा उठेको शुल्क थियो।
‘पछि सहयोगी शुभ चिन्तक थुप्रै आउनुभयो,’लामाले भने, ‘पुनर्निर्माण कहीं पनि रोकिनुपरेन।’ अहिले सम्म १४ करोड २२ लाख रुपैयाँ नगद जम्मा भइसकेको उनले जनाए। प्रशंसनीय के भने स्तूपमा लगाउने सुनको मोलम्बाका लागि व्यक्तिगत पहलमै ३० किलो सुन दान स्वरूप प्राप्त भएको छ। धर्मगुरु ताई रिन्पोछे र उनी अन्तर्गतका बौद्ध संघ संस्था र अनुयायीको पहलमा २९ किलो र सर्वसाधारण मार्फत एक किलो सुन जम्मा भएको समितिले जनाएको छ।

मोलम्बाका लागि चाहिने बाँकी ३ किलो सुन पनि सर्वसाधारणबाटै जम्मा हुँदै गरेको अध्यक्ष लामाले बताए।‘ यस हिसाबले अहिले पुनर्निर्माणलाई चाहिने भन्दा बढी सहयोग जम्मा भइसकेको अवस्था छ,’ उनले भने, ‘अब बाँकी रकमबाट धर्मशालाका लागि भवन तथा जग्गा खरिदमा खर्च गर्ने समितिको योजना छ।’ अहिले सम्म महाचैत्य अन्तर्गत साना छ्यार्तेनहरू, मण्डला र त्रयोदश भुवनको पुनर्निर्माण सकिसकेको छ।
छत्रावली र पद्मकाठ (कमलकोफूल) का कार्यहरू र पुरानो तामाका पाताहरूमा सुनको मोलम्बा लगाउने कार्य ९० प्रतिशत सकिसकेको छ। समितिका कार्यकारी निर्देशक फुबुयाङजी लामाका अनुसार महाचैत्यको पुनर्निर्माणमा पुरानैपन झल्काउन सिमेन्टको सट्टा बज्रप्लास्टर प्रयोग गरिएको छ। यो सिमेन्ट जत्तिकै बलियो हुने परम्परागत प्रविधि हो। काँचोचुन, सुर्खी (इँट्टाकोधुलो) र बालुवा प्रयोग गरी बज्रप्लास्टर निर्माण गरिन्छ।‘ पुरातत्त्व विभागको सिफारिस अनुसार यसो गरेका हौं, ’उनले भनिन्। भूकम्पले भत्किँदा महाचैत्यको माथिल्लो भाग मा १९ वटा तामाका बन्दबाकस भेटिएका थिए। ती सबै पुरातत्त्ववि भागको रोहबरमा लाहछाप लगाई संरक्षणका लागि प्रहरीलाई जिम्मा लगाइएको थियो।

पुनर्निर्माण क्रममा ती बाकसलाई पनि नखोलीकनै महाचैत्य भित्रै राखिएको समितिले जनाएको छ। ३६ मिटर अग्लो महाचैत्यलाई चट्याङबाट जोगाउन पहिलोपटक अर्थिङ समेत गरिएको छ। बौद्धनाथ क्षेत्र विकास समिति सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको निकाय हो। बौद्ध महाचैत्यको प्रवद्र्धन, संवद्र्धन र पुरातात्त्विक संरक्षणको जिम्मेवारी पाएको यो समितिमा सरकारबाट वार्षिक ७ लाख रुपैयाँ मात्रै जान्छ। चालु आर्थिक वर्षका लागि पनि ७ लाख रुपैयाँ छुट्याइएको छ। भूकम्प पछि धरहरा लगायत उपत्यकाका अन्य सम्पदा पुनर्निर्माणमा ढिला सुस्ती भइरहेका बेला बौद्ध स्तूपको निर्माणमा भने यसरी जन स्तरबाट सहयोग जुट्नु निकै प्रशंसनीय रहेको अध्यक्ष लामाले दाबी गरे। समितिले शनिबार पत्रकार सम्मेलन गरी सहयोगीहरूको सूचीसमेत सार्वजनिक गरेको छ। सूची अनुसार सहयोगी मध्ये मकाउका विद्यार्थी र प्रोफेसरहरूबाट २ करोड १६ लाख रुपैयाँ, एचएनए ग्रुप र कमन वेल फाउन्डेसनबाट ३ करोड रुपैयाँ, चिनियाँ बुद्धिस्ट एसोसिएसनबाट ३ करोड ५० लाख रुपैयाँ, तेर्कर फाउन्डेसन नेपालबाट १ करोड रुपैयाँ,  लुम्बिनीस्थित चिनियाँ गुम्बाबाट ५० लाख रुपैयाँ, बोधि धातुबाट २० लाख रुपैयाँ, विभिन्न संघ संस्थाबाट ३ करोड २० लाख ५० हजार रुपैयाँ र चिनियाँ दूतावास बाट ६५ लाख रुपैयाँ छ।

बौद्धको पुरानो नाम झ्यारुङखस्यो रहो। बुद्धले निर्वाण प्राप्त गरेको केही समय पछिनै झ्याझिमा नामक एक महिलाले राजाको अनुमति लिई महाचैत्य निर्माण गरिएको बौद्ध मिथक छ। केही बौद्ध अनुयायी स्वयम्भू जस्तै यो महाचैत्य पनि आफैं उत्पत्ति भएको विश्वास गर्छन्। डानियलराइट द्वारा सम्पादित उन्नाइसौं शताब्दीको एक वंशावली अनुसार भने यो महाचैत्य राजा मान देव प्रथमले सन् ४६४–५०५ मा निर्माण गर्न लगाएको उल्लेखछ।

FacebookTwitterGoogle+Share